काठमाडौँ । सहरीकरणसँगै जोडिएर आउने सुकुम्बासी समस्यालाई फोहोर व्यवस्थापन गरेजस्तो व्यवहारबाट समाधान गर्न नसकिने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीहरूको स्थायी बसोबासको प्रबन्ध अझै हुन नसक्नुलाई उनले दुःखद र विडम्बनापूर्ण अवस्थाका रूपमा चित्रण गरेका छन् ।
बस्तीबाट हटाइएको महिनौँ बितिसक्दा पनि पीडितहरूको पुनर्वासको टुंगो नलागेकोप्रति चिन्ता व्यक्त गर्दै भट्टराईले यस विषयलाई केवल प्रशासनिक कारबाहीमा सीमित राख्न नहुने बताए । उनका अनुसार सुकुम्बासी समस्यालाई आर्थिक, सामाजिक र मानवीय दृष्टिकोणबाट बुझेर मात्र दिगो निकास निकाल्न सकिन्छ ।
अल्पविकसित मुलुकहरूमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र कमजोर बन्दै गएपछि रोजगारीको खोजीमा सहर पस्ने श्रमिक वर्ग नै मुख्यतः आवासविहीन बन्ने गरेको उनको विश्लेषण छ । सहरको सरसफाइ, घरेलु कामकाज, हेरचाह सेवा तथा ढुवानीजस्ता अत्यावश्यक क्षेत्रमा श्रम दिएर सहरी अर्थतन्त्र चलायमान बनाउन यही वर्गले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनले उल्लेख गरे ।
सहरको विकास र विस्तारसँगै देखा पर्ने यो समस्यालाई एक ऐतिहासिक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने भट्टराईको धारणा छ । गरिब तथा आवासविहीन नागरिकलाई सहरभित्रै सम्मानजनक बसोबासको व्यवस्था मिलाउनु नै संविधान र समावेशी लोकतन्त्रको मर्म भएको उल्लेख गर्दै उनले यसका लागि तत्काल ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

