काठमाडौँ । शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्तीको अवसरमा आज देशभरका गुरुद्वाराहरूमा विशेष धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन यो पर्व श्रद्धा र भक्तिपूर्वक मनाउने परम्परा रहेको छ ।
विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा जन्मिएका गुरु नानकले शिख समुदायको पवित्र धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए । उनले तत्कालीन समाजमा जरा गाडेर बसेको जातिवाद, अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गर्दै मानवतावादी दर्शनको सुरुवात गरेका थिए । निर्गुण उपासनाका पक्षपाती नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् र यही नै शाश्वत सत्य हो’ भन्ने मान्यता राख्थे ।
गुरु पर्वको मुख्य आकर्षणका रूपमा बिहानैदेखि पवित्र स्थल गुरुद्वाराहरूमा धर्मावलम्बीहरूको प्रभात फेरी निकालिन्छ । प्रभात फेरीका क्रममा विभिन्न मन्त्रोच्चारण र भजनमार्फत गुरुको महिमा गान गर्ने गरिन्छ, जसलाई बिहानीको समयमा ‘असा दि वार’ भनिन्छ । यस्ता धार्मिक भेलालाई ‘अमृत भेला’ नाम दिइएको छ ।
समाजमा आपसी प्रेम, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यले गुरु नानकले ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए । अमृत भेला सम्पन्न भएपछि गुरुद्वाराका स्वयंसेवकहरूको व्यवस्थापनमा निःशुल्क सामुदायिक भोजन अर्थात् ‘लङ्गर’ खुवाउने प्रचलन छ । लङ्गरमा जुनसुकै जात, वर्ण, लिङ्ग वा समुदायका मानिसहरू बिनाकुनै भेदभाव सहभागी हुन पाउँछन् । सामाजिक सहिष्णुताको उत्कृष्ट नमुना मानिने यो परम्पराले भक्ति र सेवाको मार्गमा सबै मानव समान छन् भन्ने सन्देश प्रवाह गर्दछ ।
यस पर्वको तयारीस्वरूप दुई दिनअगावैदेखि पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को निरन्तर ४८ घण्टासम्म पाठ गर्ने गरिन्छ । अविच्छिन्न रूपमा चल्ने यस्तो धार्मिक अध्ययनलाई ‘अखण्ड पाठ’ भनिन्छ, जसको समापन गुरु पर्वका दिन विधिविधानपूर्वक गर्ने गरिन्छ ।

