काठमाडौँ । औषधि उत्पादनमा प्रयोग गरिने ९५ प्रतिशत इथानोलयुक्त रेक्टिफाइड स्पिरिटको गुणस्तर कडाइका साथ कायम गर्न औषधि व्यवस्था विभागले सम्बद्ध उद्योग तथा सरोकारवालालाई निर्देशन जारी गरेको छ ।
विभिन्न औषधि बनाउने क्रममा सहायक कच्चा पदार्थका रूपमा उपयोग हुँदै आएको उक्त स्पिरिटको स्तरमा खराबी आए समग्र औषधिकै गुणस्तर प्रभावित हुन सक्ने विभागको ठहर छ । यही संवेदनशीलतालाई ध्यानमा राख्दै मात्रा तथा गुणस्तरको सुनिश्चितताका लागि विभागले नयाँ नियम कार्यान्वयनमा ल्याउन लागेको हो ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म अल्कोहल डिस्टिलरी तथा चिनी मिललगायतका व्यावसायिक उत्पादकबाट तयार पारिएको रेक्टिफाइड स्पिरिट औषधि उद्योगहरूले खरिद तथा प्रयोग गर्दै आएका छन् ।
उत्पादन र प्रशोधनको चरणमै मान्यताप्राप्त मापदण्ड पालना भएको यकिन गर्नुपर्ने आवश्यकता औँल्याउँदै महानिर्देशक भट्टराईले औषधिमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट भारतीय फार्माकोपिया , ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायतका आधिकारिक फार्माकोपियाअनुसार हुनुपर्ने स्पष्ट पारे ।
सोमबार प्रकाशित सूचनामार्फत विभागले मापदण्ड पुगेको गुणस्तरीय स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन उद्योगी तथा सरोकारवालालाई आग्रह गरेको छ । सूचना जारी भएको मितिले ३५ दिनपछि यो व्यवस्था अनिवार्य रूपमा लागू हुने र विभागीय निर्णयबमोजिम सबैलाई जानकारी गराइएको सूचनामा जनाइएको छ ।
यसैगरी अत्यावश्यक जीवनरक्षक औषधिको सहज आपूर्ति र बिरामीको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजार उपलब्धताबारे पनि विवरण सार्वजनिक गरेको छ ।
सिस्प्लाटिन , कार्बोप्लाटिनलगायत प्लाटिनम समूहका औषधि र डायलाइसिस सोलुसन बजारमा अभाव रहेको वा न्यून मात्रामा उपलब्ध भएको भन्ने गुनासो तथा जानकारी आएपछि ती सामग्री सहज रूपमा पाइने फर्म र वितरकको सूची सार्वजनिक गरिएको विभागले जनाएको छ ।
आयातकर्ताहरूलाई औषधिको मौज्दात , प्राप्ति र वितरणसम्बन्धी अद्यावधिक विवरण व्यवस्थित अभिलेखमा राखी निरन्तर आपूर्ति कायम राख्न विभागले अनुरोध गरेको छ ।
अर्कातर्फ दसैँपछि प्राविधिक स्तरोन्नति ( पिएचपी अपग्रेड ) हुन नसक्दा रोकिएको विभागको अनलाइन सेवा आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । दर्तालगायतका अनलाइन सेवा आजैदेखि नियमित रूपमा सुचारु हुने जानकारी सोमबारको सूचनामा समावेश गरिएको छ ।

