काठमाडौँ । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा आज नेपाल र युएईबीच महत्वपूर्ण भिडन्त हुँदैछ ।
पहिलो खेलमा हार व्यहोरेका दुवै टोली प्रतियोगितामा जीवित रहन आज जित्नै पर्ने दबाबमा छन् । दोहामा हुने यो खेल नेपाली समयअनुसार आज बिहान ११:४५ बजे सुरु हुनेछ ।
नेपालले उद्घाटन खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको फराकिलो हार व्यहोरेको थियो । उता युएई पनि पाकिस्तान ‘ए’ सँग ६१ रनले पराजित भएको थियो । लगातार हारको जोखिम टार्न दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रँदै छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल समावेश छन् । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेकाले टोलीमा प्लेअफबाट बाहिरिएका फ्रेन्चाइज टोलीका अधिकांश खेलाडी समेटिएका छन् ।
एकदिवसीय ढाँचामा भइरहेको यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टोलीसँगै नेपाल, युएई र हङकङका सिनियर टोली सहभागी छन् । आजको खेलपछि नेपालले आगामी नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

