काठमाडौँ । आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धनका लागि नेपाल र भारतबिच औपचारिक समझदारी हुने भएको छ ।
द्विपक्षीय सहकार्यलाई थप फराकिलो बनाउने लक्ष्यसहित दुई देशबिच समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको हो ।
उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्कीले हस्ताक्षर गर्नेछन् भने भारत सरकारका तर्फबाट आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले हस्ताक्षर तथा आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ ।
यस सम्झौताले दुवै मुलुकका परम्परागत उपचार प्रणालीको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । साथै, वैज्ञानिक अध्ययन–अनुसन्धान, प्राविधिक ज्ञानको आदानप्रदान र समग्र स्वास्थ्य सेवा विस्तारमा समेत यो सहकार्य फलदायी हुने विश्वास लिइएको छ ।

