काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन प्रस्थान गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डललाई सभापति रवि लामिछानेले भ्रमणको मूल उद्देश्यमा केन्द्रित रहन आग्रह गरेका छन् ।
शनिबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा भ्रमण टोलीका सदस्यहरूसँग छलफल गर्दै सभापति लामिछानेले निर्धारित आचारसंहिताको पूर्ण पालना गर्दै भ्रमणलाई परिणाममुखी बनाउन निर्देशन दिएका हुन् । पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार भेटका क्रममा सभापति लामिछानेले भ्रमणको पूर्वतयारी र प्रभावकारी सहभागिताका विषयमा आवश्यक मार्गनिर्देशन प्रदान गरेका थिए ।
महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय टोली यही कात्तिक २९ गतेदेखि छिमेकी मुलुक चीनको भ्रमणमा जाँदैछ ।
उक्त प्रतिनिधिमण्डलमा मुख्य सचेतक बुर्लाकोटीसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा र डा. धनञ्जय रेग्मी सहभागी छन् । यस्तै, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमण टोलीमा आबद्ध रहेका छन् ।
यसअघि भ्रमण दलमा आबद्ध सांसदहरूले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरी भ्रमणका विषयमा छलफल गरेका थिए ।

