ललितपुर । राजा सिद्धिनरसिंह मल्लद्वारा सत्रौँ शताब्दीमा स्थापित पाटनको प्राचीन कार्तिक नाच शुक्रबार साँझबाट पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा सुरु गरिएको छ ।
कार्तिक नाच संरक्षण समितिका अनुसार यस वर्ष मङ्सिर ८ गतेसम्म कुल १२ दिनसम्म विविध सांस्कृतिक तथा धार्मिक नृत्यहरू प्रदर्शन गरिनेछन् ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाचमा भगवान् विष्णुका विभिन्न अवतारका साथै कृष्णलीला र अन्य धार्मिक आख्यानमा आधारित नाट्य प्रस्तुत गरिन्छन् ।
चालु वर्षको प्रदर्शनमा भक्त सुरदास प्याखं, माधवानल लीला, जलशयन, वराह र नृसिंह अवतारलगायत वस्त्रहरण र दधि लीलाका आकर्षक प्रस्तुतिहरू समावेश गरिएका छन् ।

