पोखरा । पर्यटन प्रवर्द्धनका विविध आयाम र आगामी कार्यक्रमलाई सफल बनाउने विषयमा पोखरा महानगरपालिका र कोइकाबीच महत्वपूर्ण संवाद सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल प्रमुख मुहेओन कोङबीचको यो भेटघाटमा आगामी दिनमा सञ्चालन हुने दोस्रो संस्करणको आरयू फेस्टलाई भव्य रूपमा सफल पार्ने विषयमा विस्तृत रूपमा विचारविमर्श गरिएको थियो ।
यस साझेदारीले यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास गरिएको छ । महानगरपालिकाका अनुसार अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउँदै स्थानीय पर्यटनका नयाँ सम्भावनाहरू उजागर गर्ने उद्देश्यले उक्त छलफल केन्द्रित रहेको थियो ।
उक्त उच्चस्तरीय भेटमा कोइकाका उपप्रमुख सुजिन यो, सहायक प्रमुख विकास रावल, कार्यक्रम व्यवस्थापक मिन्जु चोई, युवा प्रतिनिधि ह्युनजङ लिम, महाप्रबन्धक सृष्टि चित्रकार तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी कार्यक्रम व्यवस्थापक कल्पना सरकारलगायतका विशिष्ट व्यक्तिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

