काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम पारदर्शी ढंगले परिचालन हुने प्रतिबद्धता विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यक्त गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ‘नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिका’ ले उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै उनले कोषको रकम कुनै पनि हालतमा दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।
सो अवसरमा संस्थाले कोषका लागि १ करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । मन्त्री पुनले हालको बजेट मुख्यतः बाढीपहिरोले क्षति पुर्याएका सडक, पुल, विद्यालय र अस्पतालहरूको पुनर्निर्माण तथा प्रभावितहरूलाई तत्काल राहत पुर्याउन खर्च भइरहेको जानकारी दिए ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूको प्रारम्भिक अनुमानअनुसार हालैको विपद्बाट मुलुकले करिब ३ देखि ४ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोरेको उनले उल्लेख गरे ।
यति ठुलो परिमाणको क्षतिको पुनर्निर्माण गर्न उद्धार कोषमा जम्मा भएको रकमले मात्र नपुग्ने मन्त्री पुनको भनाइ छ ।

