काठमाडौँ । बंगलादेशतर्फ थप २० मेगावाट बिजुली पठाउन देखिएको प्रशासनिक तथा प्राविधिक अवरोध हटाउन नेपालले भारतसँग दिगो निकास निकाल्ने पहल थालेको छ ।
नेपाल र बंगलादेशबिच कुल ६० मेगावाट विद्युत् खरिद-बिक्री गर्ने सहमति जुटिसके पनि भारतीय प्रसारण लाइनको प्रयोगका लागि आवश्यक स्वीकृति नआउँदा हाल ४० मेगावाट मात्र निर्यात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेशी पक्षले ६० मेगावाट नै बिजुली खरिद गर्न तत्परता देखाइसकेको छ । तर, त्रिदेशीय विद्युत् व्यापारको संरचनाअनुसार भारतको प्रसारण ग्रिड प्रयोग गर्नुपर्ने भएकाले अतिरिक्त २० मेगावाट प्रवाहका लागि भारतीय निकायको औपचारिक अनुमति अनिवार्य मानिन्छ । हालसम्म उक्त अनुमति प्राप्त नहुँदा सहमति भइसकेको थप बिजुली पठाउने प्रक्रिया रोकिएको हो ।
प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारीहरूले यो समस्यालाई अल्पकालीनभन्दा पनि दीर्घकालीन संयन्त्रमार्फत समाधान गर्न भारतीय पक्षसँग उच्चस्तरीय कूटनीतिक तथा प्राविधिक संवाद अगाडि बढाउने तयारी गरेका छन् । यो सहमति कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा निर्यातको दायरा फराकिलो हुनुका साथै क्षेत्रीय ऊर्जा व्यापारमा समेत महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

