काठमाडौँ । ब्राजिलका पूर्वफुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबल मैदानमा फर्किएका छन् । उनले आइतबार इटालीको तेस्रो डिभिजन क्लब राभेन्नाबाट खेल्दै आफ्नो खेलजीवन पुनर्जीवित गरेका हुन् ।
उक्त खेलमा राभेन्नाले २–० गोलको सानदार जित निकालेको छ ।
यसअघि उनले सन् २०१५ मा फ्लुमिनेन्सबाट आफ्नो अन्तिम व्यावसायिक खेल खेलेर फुटबलबाट संन्यासको घोषणा गरेका थिए । गत अगस्टमा लगानीकर्ताका रूपमा मात्र राभेन्ना क्लबमा आबद्ध भएका उनी अप्रत्याशित रूपमा फेरि खेलाडीकै रूपमा मैदानमा उत्रिएका हुन् ।
सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डिन्होले सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि पनि चुमेका थिए । आफ्नो चम्किलो खेलजीवनमा उनले बार्सिलोना र एसी मिलानबाट घरेलु लिगको उपाधि समेत जितेका थिए । सन् २००५ मा प्रतिष्ठित ‘बालोन डी’ओर’ र ‘फिफा वर्ष खेलाडी’ घोषित भएका उनको व्यावसायिक खेलजीवनमा कुल २९९ गोल रहेको छ । बार्सिलोनाबाहेक उनले पिएसजी, एसी मिलान, ग्रेमियो, फ्लामेङ्गो, एट्लेटिको मिनेरो, फ्लुमिनेन्स र मेक्सिकोको क्वेरेटारो जस्ता प्रख्यात क्लबबाट फुटबल खेलेका थिए ।

