काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टसहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
अदालतको यो आदेशसँगै जिल्ला प्रहरी परिसर काठमाडौँलाई उक्त प्रकरणको थप छानबिन गर्ने बाटो खुलेको हो ।
परिसरका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता दानबहादुर थापाका अनुसार अदालतले भट्टसहित बिचौलियाका रूपमा चिनिएका इनम सापकोटा र नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठको म्याद थप गरेको हो ।
प्रहरीले यसअघि गत असोज १४ गते सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सापकोटामाथिको सोधपुछ र प्रमाण संकलनका क्रममा पूर्वसीईओ भट्ट र श्रेष्ठको समेत संलग्नता देखिएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरी सम्पत्ति शुद्धीकरणको दायरामा ल्याएर अनुसन्धान गरिरहेको छ ।

