काठमाडौँ । नागरिकलाई सरकारी सेवामा सहज पहुँच दिलाउने उद्देश्यसहित सुरु गरिएको घरदैलोमै सरकारी कागजात पुर्याउने अभियान देशभरका सबै ७७ जिल्लामा लागू भएको छ । हुलाक सेवा विभागले गत २०८२ चैत २३ गते सिराहा जिल्लाबाट थालेको यो सेवा अहिले राष्ट्रव्यापी बनेको हो । विभागको तथ्याङ्कअनुसार २०८३ मंसिर २ गतेसम्म १२ हजार ४३३ थान राहदानी र १ हजार १०६ थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइएको छ ।
सरकारको शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिक सरकारी कुरियरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । सोही योजनाअनुरूप नागरिकको घरसम्मै कागजात वितरण गर्ने र सरकारी निकायहरूबीच सामग्री ढुवानी गर्ने कार्यलाई तीव्रता दिइएको विभागले स्पष्ट पारेको छ ।
कार्यालय ढुवानी र घरदैलो वितरणको अवस्था
विभागले सरकारी कार्यालयसम्म पुर्याइएका र सिधै सेवाग्राहीको घरमा वितरण गरिएका कागजातको अलग-अलग विवरण सार्वजनिक गरेको छ । हालसम्म हुलाकमार्फत ३ लाख ७० हजार ९२५ राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा र १३ लाख ५३ हजार ९० सवारी चालक अनुमति पत्र यातायात व्यवस्था कार्यालयहरूमा ढुवानी गरिएको छ ।
यसैगरी, २६५ थान शैक्षिक प्रमाणपत्र ढुवानी तथा वितरण गरिएको छ भने नेपाल टेलिकमका ४४ थान सिमकार्ड सिधै ग्राहकको घरमा र २२१ थान सिमकार्ड तथा अन्य सामग्री सम्बन्धित कार्यालयमा पुर्याइएको छ । स्वास्थ्य क्षेत्रतर्फ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका १ हजार ७२९ नमुना, स्वास्थ्य बीमा बोर्डमा आबद्ध १८ अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री तथा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री पनि हुलाकमार्फत नै ढुवानी भएका छन् ।
प्रणाली एकीकरण र अन्तरनिकाय सम्झौता
लाइसेन्स वितरण प्रक्रियालाई छरितो बनाउन हुलाक सेवा विभाग र यातायात व्यवस्था विभागको सूचना प्रणालीलाई आपसमा जोडिएको छ । यसका लागि २०८३ असोज ६ गते हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय समझदारी भएको थियो ।
साथै, विद्यार्थीका शैक्षिक प्रमाणपत्र घरमै पुर्याउन गत कात्तिक १७ गते त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरिएको छ भने जग्गाधनी प्रमाणपुर्जा लगायत अन्य कागजात ढुवानीका लागि पनि आवश्यक सम्झौता भइसकेका छन् । आन्तरिक डाँक सेवाका लागि यती एयरलाइन्ससँग हवाई ढुवानी सम्झौता नवीकरण गरिएको छ । विपद्को समयमा पोखराबाट मुस्ताङ डाँक पठाउन मल्लाज हुँदै वैकल्पिक मार्ग तय गरिएको छ भने दक्षिणी ललितपुर र मकवानपुरका बासिन्दालाई लक्षित गरी चापागाउँमा नयाँ हुलाक काउन्टर सञ्चालनमा ल्याइएको छ ।
अन्तर्राष्ट्रिय विस्तार र विद्यमान चुनौती
विभागले अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि १४ वटा गन्तव्यको मार्ग योजना तयार पारेको छ । नेदरल्यान्ड्ससँग हुलाक सामग्री आदानप्रदान सहज बनाउन बेल्जियमस्थित नेपाली दूतावासको समन्वयमा दुई देशका हुलाक निकायबीच छलफल अघि बढेको छ । नेपालले अद्यावधिक गरेका पत्र तथा पार्सल सेवासम्बन्धी विवरण विश्व हुलाक संघले प्रकाशन गरेको छ भने दुर्गम क्षेत्रमा सेवा पुर्याएबापत नेपाल हुलाकले एसिया-प्रशान्त हुलाक संघबाट पुरस्कारसमेत प्राप्त गरेको छ ।
विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार गोश्वारा हुलाक कार्यालयबाट हुने अन्तर्राष्ट्रिय कुरियर कारोबारमा वृद्धि भएको छ र विश्व हुलाक संघको मूल्याङ्कनमा नेपालको अङ्कमा सुधार आएको छ । यद्यपि, सेवालाई थप प्रभावकारी बनाउन बजेट, स्रोतसाधन र प्राविधिक जनशक्तिको अभाव मुख्य चुनौतीका रूपमा रहेको उनले बताइन् । सरकारी कुरियर सेवालाई कानुनी मान्यता दिन हुलाक सेवा ऐन संशोधनको मस्यौदा मन्त्रालयमा पेस गरिएको र अन्तर्राष्ट्रिय डाँकको लेखा प्रणाली सुधारसम्बन्धी अध्ययन प्रतिवेदनसमेत तयार पारिएको विभागले जनाएको छ ।

