झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापा देशको नेतृत्व सम्हाल्न पूर्ण रूपमा सक्षम र तयार रहेको बताएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. १ मा आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले गगन थापामा मुलुक बनाउने स्पष्ट दृष्टिकोण, अनुभव र लोकतान्त्रिक मूल्य रहेको उल्लेख गरे । यही कारण पार्टीले आगामी प्रधानमन्त्रीका रूपमा थापालाई अघि सार्दै चुनावी अभियान सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
“लोकतान्त्रिक आन्दोलनमा गगन थापाको योगदान, राजनीतिक संस्कार र दूरदृष्टि अत्यन्तै महत्वपूर्ण छ,” शर्माले भने, “त्यसैले नेपाली कांग्रेसले उहाँलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित जनतामाझ गएको हो ।”
उपसभापति शर्माले हालै सम्पन्न पार्टीको विशेष महाधिवेशनले भागबन्डा र गुटगत राजनीतिलाई अन्त्य गरेको दाबी गरे । विगतमा चर्चामा आउने ६०-४० को समीकरण अब समाप्त भएको भन्दै उनले पार्टी अहिले एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए ।
विशेष महाधिवेशनपछि पहिलोपटक आफ्नै गृह निर्वाचन क्षेत्र झापा–१ पुगेका शर्माले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवराज पाण्डेलाई जिताउन कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी संगठन मजबुत बनाउँदै चुनावमा केन्द्रित हुन सबैलाई आग्रह गर्नु भयो ।



