काठमाडौँ । क्षेत्रीय शान्ति र सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको भ्रमणका क्रममा पाकिस्तानी सेनाप्रमुख फिल्ड मार्शल असिम मुनिर र इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफबीच बिहीबार तेहरानमा औपचारिक भेटवार्ता भएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुधबार त्यहाँ पुगेका मुनिरले पछिल्लो समय बढ्दै गएको क्षेत्रीय तनाव न्यूनीकरण गर्ने विषयमा छलफल गरेका छन् । यसअघि इस्लामाबादमा सम्पन्न भएको पहिलो चरणको शान्ति वार्ताको निरन्तरताका रूपमा यो भ्रमणलाई हेरिएको छ ।
पछिल्लो घटनाक्रम अनुसार मुनिरले अमेरिकासँग सम्बन्धित केही नयाँ सहमतिका प्रस्तावहरू लिएर तेहरान पुगेको दाबी गरिएको छ । सभामुख गालिबाफले पनि हालै इस्लामाबादमा भएको अमेरिकासँगको वार्तामा इरानी टोलीको नेतृत्व गरेका थिए । यद्यपि , इरानले अमेरिकासँगको वार्ताप्रति आफ्नो पूर्ण भरोसा नरहेको र नतिजालाई लिएर आशंका कायमै रहेको स्पष्ट पारेको छ ।
इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका सदस्य वाहिद अहमदीले अबको स्थितिको जिम्मेवार अमेरिका नै हुनुपर्ने धारणा राखेका छन् । उनका अनुसार यदि अमेरिकाले इरानका जायज मागहरूलाई सम्बोधन गर्न तयार भएन भने परिस्थिति थप गम्भीर बन्न सक्छ । सकारात्मक जवाफ नआएमा इरानले आफ्नो अडान नछोड्ने र आवश्यक परे युद्धका लागि समेत पछि नहट्ने चेतावनी उनले दिएका छन् ।



