काठमाडौँ । मधेस प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन-२०८२’ सम्पन्न भएको छ ।
‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मुख्य लक्ष्यका साथ मध्य पूर्वी पृतना अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।
बर्दिबासस्थित मुख्य सम्मेलन केन्द्रमा प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो भने अन्य दुई उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा करिब २,५०० को सङ्ख्यामा अवकाश प्राप्त सैनिक र उनीहरूका परिवारको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा भएको उक्त कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक, एकल महिला र आफ्ना चार सन्तानलाई सेनामा सेवा गर्न पठाउने अभिभावकलाई विशेष सम्मान गरिएको थियो । यसका साथै उत्कृष्ट उद्यमीहरूलाई पुरस्कार र फरक क्षमता भएका ८ जना भूतपूर्व सैनिकहरूलाई व्हिल चेयर तथा बैसाखी समेत वितरण गरियो ।
यस्ता सम्मेलनले सेवारत र अवकाश प्राप्त सैनिकहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । कार्यक्रममा संकलन गरिएका सुझावहरूले कल्याणकारी कोषमार्फत प्रदान गरिने शिक्षा, स्वास्थ्य र स्वरोजगारका सुविधाहरूलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने सेनाको भनाइ छ । यसै शृङ्खला अन्तर्गत मध्य पूर्वी पृतनाकै हिमाली तथा पहाडी जिल्लाहरूका लागि आगामी २०८३ वैशाख ५ गते सम्मेलन आयोजना गरिने तय भएको छ ।



