कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ भने उनकी हजुरआमा गम्भीर घाइते भएकी छन्।
लालझाडी गाउँपालिका–६ स्थित चान्देव ढक्का शिविरमा आइतबार बिहान करिब साढे २ बजे जंगली हात्तीले घरमा आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट ६ वर्षीया रोजिना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी हेम शाहीका अनुसार, आक्रमणमा परी बालिकाकी ५५ वर्षीया हजुरआमा पार्वती साउँद गम्भीर घाइते हुनुभएको छ।
आक्रमणलगत्तै दुवै जनालाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ ६ बजेर १५ मिनेटमा रोजिनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घाइते पार्वतीको अवस्था अझै चिन्ताजनक रहेको र सोही अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले जानकारी दिए ।



