काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सरकारी कागजात सच्याएको तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, उक्त कार्यालयले लाइसेन्स वितरणका क्रममा अस्वाभाविक रुपमा धेरै परीक्षार्थी सहभागी गराएर अनियमितता गरेको पाइएको छ ।
मुद्दा दायर गरिएका कर्मचारीहरू:
१. मदन प्रसाद देवकोटा (तत्कालीन निमित्त कार्यालय प्रमुख)
२. शम्भु दाहाल (तत्कालीन मेकानिकल सुपरभाइजर)
३. धनसिंह थापा (तत्कालीन नायब सुब्बा)
४. जागेश्वर थारु (तत्कालीन कम्प्युटर अपरेटर)
५. मिलन बुढथापा (तत्कालीन खरिदार) लगायत ७ जना।
आयोगले उनीहरूले कानुन विपरीत सरकारी कागजातमा केरमेट र फेरबदल गरेको पुष्टि गर्दै कानुन अनुसारको सजाय र जरिवानाको माग दाबी गरेको छ।



