काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनको समयमा कटौती गरेको छ ।
फागुन १८ गतेदेखि लागू हुने गरी जिल्लाभित्रका सम्पूर्ण रात्रिकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयपछि अनिवार्य रूपमा व्यवसाय बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार निर्वाचनको अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउन यस्तो कदम चालिएको हो । निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको र सोही योजनाअन्तर्गत रात्रिकालीन समयमा हुने जमघट तथा गतिविधिमा सीमा तोकिएको प्रशासनको भनाइ छ ।
प्रशासनले यो निर्णयको पूर्ण पालना गर्न जिल्लाका सबै व्यवसायी र सरोकारवालाहरूलाई आग्रह गरेको छ । तोकिएको समयभन्दा ढिलो व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ । निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्थामा थप कडाइ गरिएसँगै अन्य जिल्लाहरूमा पनि यस्तै किसिमका सुरक्षा योजनाहरू कार्यान्वयनमा ल्याइएका छन् ।



