काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसले देशका विभिन्न सहरहरूमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ ।
यसै क्रममा कांग्रेसले आज (शुक्रबार) देशका तीन प्रमुख सहरहरू बुटवल, बागलुङ र पोखरामा विशाल चुनावी सभाहरू आयोजना गर्दैछ । पार्टीले मतदाताहरूलाई आफ्नो पक्षमा आकर्षित गर्न र चुनावी माहोल तताउन यी सभाहरू गर्न लागेको हो ।
काँग्रेस प्रवक्ता देवराज चालिसेले दिएको जानकारी अनुसार आजको पहिलो सभा बिहान ११ बजे रूपन्देहीको बुटवलमा आयोजना हुनेछ । त्यसलगत्तै दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा हुने कार्यक्रम तय गरिएको छ । यी तीनवटै सभाहरूलाई पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै नेपाली कांग्रेसले आफ्ना चुनावी कार्यक्रमहरूलाई देशव्यापी रूपमा विस्तार गरिरहेको छ । यसअघि बिहीबार मात्रै कांग्रेसले कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बाँकेमा चुनावी सभाहरू सम्पन्न गरेको थियो । पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने यी सभाहरू मार्फत कांग्रेसले आफ्ना चुनावी एजेन्डा र प्रतिबद्धताहरू जनतामाझ पुर्याउने रणनीति लिएको छ ।



