रामेछाप । रामेछापको उर्माखुबासीको वर्षौँदेखिको सपना साकार भएको छ । उमाकुण्ड गाउँपालिका–५ स्थित यो विकट गाउँमा पहिलो पटक यात्रुवाहक बस पुगेपछि स्थानीयले उत्सव मनाउँदै तामाङ संस्कारअनुसार चालक, सहचालक र जनप्रतिनिधिहरूलाई भव्य स्वागत गरेका छन् ।
यसअघि उर्माखुका बासिन्दाले बस चढ्न नासपातीघारीसम्म करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अब बाहुनीडाँडा र जिदु हुँदै उर्माखुसम्मै बस पुगेपछि स्थानीयलाई ठूलो राहत भएको छ । नेपाल अरनिको यातायात सेवा प्रा.लि.का अनुसार सडक सहज भएमा यस रुटमा अब नियमित बस सेवा सञ्चालन हुनेछ ।
वडा अध्यक्ष कुलबहादुर बस्नेतले गाउँमै बस पुगेपछि स्थानीयको दैनिक जीवन सहज हुने बताउँदै बाह्रै महिना यातायात चल्ने गरी सडक स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बस पुगेसँगै अब बिरामी ओसारपसार र बजारसम्मको पहुँचमा ठूलो सुधार आउने स्थानीयले अपेक्षा गरेका छन् ।



