काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
निगमको आज बसेको बैठकले पेट्रोल , डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्य सूची आजै राति १२ बजेदेखि लागु हुनेछ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको छ । यो वृद्धिसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ । त्यसैगरी , डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य सूची प्राप्त हुँदा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ , डिजेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँ मूल्य बढेर आएको जानकारी दिएको छ । सोही बमोजिम नेपालमा पनि मूल्य समायोजन गरिएको निगमको दाबी छ ।



