काठमाडौँ । नेपालका विभिन्न भू-भागमा अहिले स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले सामान्य बदली भएको छ भने बाँकी स्थानको मौसम सफा रहेको छ । विशेषगरी गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो पनि हिमाली क्षेत्रमा बादल लाग्ने र तराईमा मौसम सफा रहने प्रक्षेपण गरिएको छ । कोशी, बागमती र गण्डकीका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । रातीको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।



