काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने औपचारिक निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापाद्वारा प्रस्तुत महाधिवेशनको कार्यतालिकामा सामान्य परिमार्जन गर्दै नयाँ मिति तय गरेको हो । यसअघि भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको भए तापनि आन्तरिक तयारी र प्राविधिक पक्षलाई मध्यनजर गर्दै असोजको तेस्रो सातालाई अन्तिम रूप दिइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
पार्टीले यसपटक क्रियाशील सदस्यता वितरण र अभिलेखिकरणलाई विशेष प्राथमिकतामा राखेको छ । विधान बमोजिम सबै सदस्यले अनिवार्य रूपमा पुनः सदस्यता फाराम भरी विवरण अद्यावधिक गर्नुपर्ने र नयाँ परिचयपत्र प्राप्त गर्ने सदस्यले मात्र अधिवेशन प्रक्रियामा भाग लिन पाउने व्यवस्था गरिएको छ । यसका लागि आगामी २०८३ वैशाख महिनाभर देशभरका ६,७४३ वटै वडामा विशेष अभियान सञ्चालन गरिनेछ । १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रबाट प्रतिनिधि खटाइने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने कार्य सम्पन्न गरिने बैठकको निर्णय छ ।
यस्तै, पार्टीले निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्कालाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा नियुक्त गरेको छ । समितिका अन्य चार सदस्यहरू चयन गर्ने जिम्मेवारी भने बैठकले सभापति थापालाई नै सुम्पिएको छ । संशोधित कार्यतालिका अनुसार भदौ २ गते वडा अधिवेशनबाट सुरु हुने चुनावी प्रक्रिया असोजको प्रदेश अधिवेशन हुँदै केन्द्रमा पुगेर टुङ्गिनेछ ।



