काठमाडौँ । कालिन्चोक हाइड्रोपावर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अन्तिम तयारी पूरा गरेको छ ।
कम्पनीले आगामी चैत २२ गतेदेखि आफ्नो सेयर बिक्री खुला गर्न लागेको जानकारी दिएको हो । यसअघि नै स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड गरिसकेको कम्पनीले अब भने आम सर्वसाधारणका लागि ढोका खोलेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो । सोमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सुरक्षित गरिएको थियो । त्यसैगरी , सामूहिक लगानी कोषलाई ४१ हजार २५० कित्ता र कर्मचारीहरूलाई १६ हजार ५०० कित्ता छुट्याएपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर अब सर्वसाधारणले भर्न पाउनेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो निष्कासन चैत २५ गतेसम्म खुला रहनेछ । वित्तीय स्वास्थ्यका दृष्टिकोणले केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ , जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । यस प्रक्रियाका लागि बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई तोकिएको छ । लगानीकर्ताले सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था वा मेरो सेयर एपमार्फत सहजै आवेदन दिन सक्नेछन् ।



