काठमाडौँ । नेपालको राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोड आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेनलाई शुक्रबार यस गरिमामय पदको जिम्मेवारी सुम्पिएको हो ।
नयाँ सरकार गठनसँगै मन्त्रिमण्डलको खाका पनि करिब निश्चित भएको छ । रास्वपाभित्रको आन्तरिक तयारी अनुसार नयाँ सरकारमा सुदन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने देखिन्छ । गोरखा–१ बाट निर्वाचित ३८ वर्षीय गुरुङ ‘जेनजी’ आन्दोलनका एक प्रभावशाली व्यक्तित्व हुन् । उनले निर्वाचनपूर्व बालेन शाह र रास्वपाबीचको सहकार्यलाई मूर्त रूप दिन निर्णायक भूमिका निर्वाह गरेका थिए ।
सरकारको आर्थिक बागडोर डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमार्फत सम्हाल्ने तय भएको छ । त्यसैगरी परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, र कानुन मन्त्रीमा सोबिता गौतमको नाम टुंगो लागेको छ । उद्योग मन्त्रीका रूपमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, ऊर्जा मन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी र पर्यटन मन्त्रीका रूपमा गणेश पौडेलले कार्यभार सम्हाल्ने तयारी छ ।
राजनीतिक शक्ति सन्तुलन मिलाउन रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउने विषयमा प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेबीच सहमति जुटेको बताइएको छ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण आज दिउँसो १२ बजेर ३४ मिनेटमा तय गरिएको छ ।



