काठमाडौँ । विशिष्ट व्यक्तिको सवारी (भीआईपी मुभमेन्ट) का कारण सर्वसाधारणले सडकमा भोग्नुपर्ने सास्ती अब सदाका लागि अन्त्य हुनुपर्ने नवनियुक्त गृहमन्त्री सुधन गुरुङले बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सुधारको थालनी आफ्नै व्यवहारबाट गर्नुपर्ने धारणा राखे ।
जेन-जी आन्दोलनको नेतृत्व गर्दै मन्त्री बनेका गुरुङले पदभार ग्रहण गरेपछि मन्त्रीहरूले पाउने अनावश्यक सेवासुविधा कटौती गर्नुपर्ने र सवारीका बेला नागरिकलाई दुःख दिने परम्परा रोकिनुपर्ने कुरामा जोड दिए । आफ्ना लागि तोकिएको सरकारी सुविधा जनताकै सेवामा लगाउने घोषणा गरेका उनी मन्त्रालयबाट बाहिरिँदा आफैँले निजी कार चलाएर निस्किएका थिए ।
उनले भीआईपी सवारीले नागरिकको दैनिक जीवनमा पारेको नकारात्मक प्रभावप्रति चासो देखाउँदै सबै मन्त्रीहरूलाई यस विषयमा संवेदनशील बन्न आग्रह गरे । ‘विशिष्ट व्यक्तिको आवतजावतका नाममा सर्वसाधारणलाई रोकेर राख्ने काम अब हुनु हुँदैन ,’ उनले भने ।
कार्यभार सम्हाल्ने क्रममा उनले जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई साक्षी राखेर केही महत्त्वपूर्ण निर्णयहरू समेत गरे । मन्त्रालय र यस मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् । साथै , आन्दोलनका घाइते तथा सहिद परिवारलाई राज्यका तर्फबाट उचित राहत र सुविधा उपलब्ध गराउन विभिन्न मन्त्रालयका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ ।



