काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान भक्तपुरस्थित आ-आफ्नै निवासबाट पक्राउ परेका दुवै नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) पुर्याइएको हो ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो । शुक्रबार मात्रै कार्यभार सम्हालेका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले एक्सन लिएको हो ।
प्रहरीका अनुसार ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई सूर्यविनायकस्थित निवासबाट जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिइएको हो । उनीहरूलाई आज परिसरमै राखिने र आइतबार मात्रै अदालतमा उपस्थित गराइने तयारी छ । गृह मन्त्रालयले ‘कानुनभन्दा माथि कोही नभएको’ भन्दै यो कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेको छ ।
यता एमाले र कांग्रेसले भने यस पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आकस्मिक बैठक बोलाएका छन् ।



