काठमाडौँ । तीन पूर्व प्रधानमन्त्रीहरूको सम्पत्तिमाथि प्रहरीले औपचारिक रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आर्थिक स्रोत र चल-अचल सम्पत्तिबारे खोजीनीति सुरु गरेको हो ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यसै अनुसन्धानको सिलसिलामा आइतबार बिहान पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ । खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिने तयारी गरेको छ । गत भदौ २४ गते भएको प्रदर्शन र आगजनीका क्रममा पूर्व प्रधानमन्त्री द्वय देउवा र दाहालका साथै पूर्वमन्त्री खड्काको निवासमा जलेका नोटका टुक्राहरू फेला परेपछि यो विषयले नयाँ मोड लिएको हो ।
विशेष गरी शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनीपछि नयाँ संरचना बनाउन खोजिए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भवन भत्काउन रोक लगाएको छ । सो स्थानमा अमेरिकी डलर र नेपाली रुपैयाँ जलेको अवस्थामा भेटिएकाले सम्पत्ति शुद्धीकरण विभागले ती प्रमाणहरू सङ्कलन गरिसकेको छ ।
हाल प्रहरीले उक्त क्षेत्रबाट कामदारहरूलाई हटाएर अनुसन्धानलाई तीव्रता दिएको छ ।



