काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार दुवै नेतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद थप गरेको हो । गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई शनिबार पक्राउ गरिएको थियो ।
अदालतमा ओलीलाई स्वास्थ्य अवस्थाका कारण भिडियो कन्फेरेन्स मार्फत उपस्थित गराइएको थियो भने नेता लेखक आफैँ उपस्थित भएका थिए । सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि १० दिनको समय माग गरे पनि अदालतले ५ दिनको मात्र अनुमति दिएको छ । शनिबार पक्राउ परे लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।



