काठमाडौँ । गृह प्रशासनको नेतृत्व सम्हालेपछि गृहमन्त्री सुदन गुरूङले पहिलोपटक प्रहरी प्रधान कार्यालयको स्थलगत अवलोकन गर्दै सुरक्षा निकायलाई जनमुखी बन्न निर्देशन दिएका छन् ।
सोमबार नक्सालस्थित मुख्यालय पुगेका मन्त्री गुरूङले प्रहरीका विभिन्न विभाग, प्रयोगशाला तथा कार्यसम्पादन प्रक्रियाको सूक्ष्म निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा उनले सीमित स्रोत र साधनका बिच पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरे । मन्त्री गुरूङले प्रहरी कर्मचारीहरूलाई कुनै पनि दबाबमा नपरी निर्धक्क र व्यावसायिक भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै नागरिकसँगको व्यवहारमा शिष्टता र पारदर्शिता अपनाउन जोड दिए । उनले आगामी दिनमा विपद् व्यवस्थापन र अपराध नियन्त्रणका लागि आवश्यक आधुनिक उपकरण र थप तालिमको व्यवस्था गर्ने आश्वासन समेत दिएका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनलाई प्रविधिमैत्री र उत्तरदायी बनाउने संकल्प गर्दै गृहमन्त्रीको निर्देशनले तल्लो तहका कर्मचारीसम्म उत्साह थप्ने बताए ।



