काठमाडौँ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
सङ्घीय संसद् सचिवालयमा बुधबार आयोजित सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिकामा सहमति जुटाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आउँदो चैत २० गते उम्मेदवारी दर्ता र २२ गते मतदान गर्ने कार्यसूची तय भएको छ ।
बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले शुभकामना आदानप्रदान गर्ने र सोही दिन सभामुख निर्वाचनको औपचारिक तालिका प्रस्तुत गरिनेछ । यसपटक सभामुखका लागि रास्वपाले आफ्ना उपसभापति डिपी अर्याललाई अघि सार्ने तयारी गरेको बुझिएको छ ।
संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भएकाले उपसभामुखको निर्वाचन भने सभामुख चयन भएपछि मात्र प्रक्रियामा लगिनेछ । नयाँ सभामुखको टुङ्गो नलागुञ्जेलसम्म संसद्को अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने गरी व्यवस्था मिलाइएको छ ।



