काठमाडौँ । मुलुकको सर्वोच्च विधायिकी अङ्ग संघीय संसदको नयाँ अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
प्रतिनिधि सभामा यस पटक शक्ति सन्तुलन फेरिएको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभन्दा ठुलो दल बनेको छ । त्यस्तै नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेकपाको १७, श्रम शक्ति पार्टीको ७, राप्रपाको ५ र एक जना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । आजको पहिलो ऐतिहासिक बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरू पढेर सुनाइनेछ । प्रतिनिधि सभाले आफ्नै नयाँ नियमावली नबनाएसम्मका लागि पुरानो नियमावली २०७९ बमोजिम कार्य सम्पादन गर्ने प्रस्ताव समेत आजै स्वीकृत गरिनेछ । यसैगरी, बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको मनोनयन र दलीय आधारमा शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।
आजको विशेष कार्यसूचीमा सभामुखको निर्वाचनको मिति तोक्ने र गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली, निर्वाचन र विशेष सेवासँग सम्बन्धित विभिन्न तीनवटा अध्यादेशहरू सदनमा पेस गर्ने कार्यक्रम छ ।
बैठकको अन्त्यमा विभिन्न समयमा निधन भएका पूर्व सांसदहरू ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गरिने संसद् सचिवालयले जनाएको छ ।



