काठमाडौँ । प्रतिनिधिसभाको नेतृत्व सम्हाल्न लाग्नुभएका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालको पद तथा गोपनीयताको शपथ ग्रहण आगामी आइतबार हुने भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो २ : ३० बजे आयोजना हुने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले एक सूचना जारी गर्दै उक्त शपथ ग्रहण समारोहमा उपस्थित हुनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूका साथै संसद् सचिवालयका पदाधिकारीहरूलाई निमन्त्रणा गर्नुभएको छ । अर्याल आजै सभामुख पदमा निर्विरोध चयन हुनुभएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यस पदका लागि अर्यालको मात्र एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
शुक्रबार दर्ता भएको उम्मेदवारीमा अर्यालको प्रस्तावकका रूपमा रास्वपा सभापति रवि लामिछाने रहनुभएको थियो भने समर्थकहरूमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल हुनुहुन्थ्यो ।



