काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसकै कारण देशभरको मौसममा फेरबदल आएको हो । हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका साथै हिमाली क्षेत्रमा बादल लागेको छ भने अन्य स्थानमा पनि आंशिक बदलीको अवस्था छ ।
आज दिउँसो विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिमको तराई र अन्य पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
राति पनि पहाडी र हिमाली भू-भागमा बादल लाग्ने क्रम जारी रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिन्छ । तराईका विभिन्न जिल्लाहरूमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।



