काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा बसेर डरत्रास र आपराधिक क्रियाकलाप फैलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले शुक्रबार राति चलाएको अपरेसनका क्रममा उनीहरूलाई विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा प्रविण तामाङ (डिम्पल), बिर्जु महर्जन, सुजन कार्की, सरु गुमागाइ र विकि लामा रहेका छन् । प्रहरीका अनुसार तामाङ बौद्ध क्षेत्रमा श्याम लामा समूहसँग मिलेर गुण्डागर्दीमा संलग्न रहँदै आएका थिए ।
त्यस्तै, कलंकी र बाफल क्षेत्रलाई आधार बनाएर गतिविधि गर्ने बिर्जु महर्जन र कलंकीकै बस टिकट काउन्टर आसपासमा सक्रिय सुजन कार्की पनि प्रहरी फन्दामा परेका छन् । स्यूचाटार क्षेत्रमा बसि अशान्ति मच्चाएको आरोपमा सरु गुमागाइ र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा विकि लामालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका सबैमाथि थप कानुनी कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



