काठमाडौँ । विगत लामो समयदेखि सुरक्षा निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण नदिएको गृहमन्त्री सुधन गुरुङले संकेत गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विगत ३६ वर्षदेखि प्रहरीको हात बाँधिएको आशय व्यक्त गरेका हुन् । “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,” उनले फेसबुकमा लेखेका छन् ।
पछिल्लो समय गृहमन्त्री गुरुङको सक्रियतामा प्रहरीले ठूला भ्रष्टाचारका काण्डहरूको अनुसन्धान तीव्र बनाएको छ । उनले कार्यभार सम्हालेकै दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
हाल भ्रष्टाचार, राजनीतिक तथा व्यापारिक सेटिङमा संलग्न व्यक्तिहरू र गुन्डागर्दीमा जोडिएकाहरू विरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको सन्दर्भमा गृहमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।



