काठमाडौँ । सरकारी निकायहरूबीचको समन्वयमार्फत अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा रहेको लामो पर्खाइको अन्त्य हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नयाँ लाइसेन्सका लागि आवेदन दिएर प्रक्रिया पुरा गरेका सेवाग्राहीले अब २४ घण्टाभित्रै कार्ड छपाइको सुविधा पाउनेछन् । यातायात व्यवस्था विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा सुरक्षण मुद्रण केन्द्रले एक दिनभित्रै कार्ड छापेर विभागलाई हस्तान्तरण गर्ने संयन्त्र तयार पारिएको हो ।
विगत लामो समयदेखि थुप्रिएर रहेको करिब २९ लाख पुराना लाइसेन्सको छपाइ कार्यलाई पनि सरकारले तीव्रता दिने भएको छ । मन्त्रालयले आउँदो असार मसान्तभित्रै सबै पुराना कार्डहरू छापिसक्ने लक्ष्य निर्धारण गरेको छ । यो नयाँ व्यवस्थासँगै लाइसेन्स कार्डका लागि महिनौँ कुर्नुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह थप छिटो र छरितो हुने विश्वास लिइएको छ ।


