काठमाडौँ । प्रहरी प्रशासनले आम नागरिकलाई दिने सेवामा व्यापक सुधार गर्दै बिचौलियाको प्रभाव शून्य बनाउन नयाँ कार्ययोजना अघि सारेको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार देशभरका प्रहरी कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सेवाग्राहीका गुनासो र समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्न निर्देशन दिनुभयो । उहाँले प्रहरी कार्यालयमा आउने नागरिकले कुनै पनि बाधा वा ढिलासुस्ती खेप्न नपरोस् भन्ने हेतुले प्रत्येक कार्यालयमा ‘नागरिक सहजकर्ता’को व्यवस्था गर्न र सेवाको प्रगतिबारे सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिने प्रणाली विकास गर्न आग्रह गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले संगठनभित्र इमानदारी र व्यावसायिकताको खाँचो औंल्याउँदै कुनै पनि प्रकारको प्रलोभन वा दबाबमा नपर्न मातहतका कर्मचारीलाई सचेत गराउनुभएको छ । उहाँले विशेषगरी सीमा क्षेत्रमा हुने तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । अपराध अनुसन्धानलाई आधुनिक र तथ्यपरक बनाउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत उहाँको निर्देशन छ ।
विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै महानिरीक्षक कार्कीले सम्भावित प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न पूर्वतयारी र उद्धार अभ्यासलाई तीव्रता दिनुपर्ने बताउनुभयो । भीडभाड नियन्त्रण गर्दा विगतका कमीकमजोरी सच्याउँदै संयमित हुन र कार्यक्षेत्रमा खटिँदा सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुशील सिंह राठौर र उमाप्रसाद चतुर्बेदीले पनि शान्ति सुरक्षा र अपराध नियन्त्रणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।



