काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार कार्यलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
नौबिसेदेखि मुग्लिङसम्मको सडक खण्डको अवस्था बुझ्दै उहाँले काममा ढिलासुस्ती गर्ने र गुणस्तरमा सम्झौता गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने चेतावनी दिनुभयो । निर्धारित समयभित्रै काम सक्न निर्देशन दिँदै मन्त्री गुरुङले विकास निर्माणका काममा कुनै पनि बहानाबाजी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
आयोजनाका तर्फबाट प्रस्तुत प्रतिवेदनमा भने निर्माण सामग्रीको अभावलाई मुख्य चुनौतीका रूपमा देखाइएको छ । विशेषगरी ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा स्थानीय तहले पुर्याएको अवरोध र क्रसर उद्योगसम्बन्धी नीतिगत समस्याले काममा बाधा पुगेको उल्लेख छ ।
फरक-फरक पालिकाले लिने दोहोरो कर र प्रशासनिक झन्झटका कारण बेल्खु, घाटबेसी र मलेखु क्षेत्रबाट निर्माण सामग्री ल्याउन कठिन भएको आयोजनाले जनाएको छ । जवाफमा गृहमन्त्रीले अन्तर-मन्त्रालय समन्वयमार्फत यी व्यावहारिक र कानुनी गाँठो फुकाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।



