काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले २१ घण्टाभन्दा लामो समयसम्म चलेको सघन छलफलमा कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । इरानले अमेरिकी प्रस्तावहरू अस्वीकार गरेपछि वार्ता असफल भएको हो ।
उपराष्ट्रपति भान्सले इरानी पक्षसँग ठोस विषयमा छलफल भए पनि सम्झौता हुन नसक्नु दुःखद भएको बताएका छन् । “हामीले निकै लचकताका साथ प्रस्तावहरू राखेका थियौँ, तर इरानले त्यसलाई स्वीकार गरेन,” उनले भने, “यो सम्झौता नहुनु अमेरिकाका लागि भन्दा इरानका लागि बढी घाटाको कुरा हो ।” अमेरिकाले यस वार्तालाई इरानका लागि अन्तिम अवसरको रूपमा लिएको समेत उनले स्पष्ट पारेका छन् ।
बैठकमा दुवै देशका सुरक्षा, राजनीति, सैन्य, आर्थिक र कानुनी विज्ञहरू सहभागी थिए । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको नतिजा जस्तो आए पनि अमेरिका नै विजयी हुने दाबी गरेका छन् । उनले इरानलाई सैन्य रूपमा कमजोर बनाइएको र होर्मुज जलडमरु (Strait of Hormuz) क्षेत्रमा रहेका विस्फोटक सामग्री हटाउने कार्य भइरहेको बताएका छन् । साथै, ट्रम्पले चीनलाई चेतावनी दिँदै इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्, जसले क्षेत्रीय तनाव थप बढ्ने देखिएको छ ।



