काठमाण्डौ । निर्माण क्षेत्रमा प्रयोग हुने अत्यावश्यक सामग्रीहरूको मूल्यमा अप्रत्याशित वृद्धि भएको भन्दै निर्माण उद्योग परिषद्ले यस क्षेत्रमा निर्माण आपत्काल घोषणा गर्न सरकारसँग माग गरेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यमा पटक-पटक उतारचढाव आएपछि त्यसको प्रत्यक्ष असर निर्माण उद्योगमा परेको परिषद्ले स्पष्ट पारेको छ । डिजेल , पेट्रोल र मट्टितेल जस्ता इन्धनको मूल्य बढेसँगै निर्माण कार्यहरू अघि बढाउन नसकिने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।
परिषद्का अनुसार इन्धन मात्र नभई बिटुमिन , सिमेन्ट र डन्डी जस्ता आधारभूत सामग्रीको मूल्य पनि निरन्तर बढिरहेको छ । बजारमा देखिएको यस्तो अभाव र महँगीका कारण निर्माण व्यवसायीहरू ठुलो आर्थिक मारमा परेका छन् । हालको कानुनी प्रावधानले मात्रै यो असामान्य मूल्य वृद्धिलाई सम्बोधन गर्न नसक्ने परिषद्को ठहर छ ।
यस समस्याको निकासका लागि सरकारले तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका-२’ जारी गर्नुपर्ने माग अघि सारिएको छ । सबै किसिमका ठेक्का सम्झौताहरूमा मूल्य समायोजनको व्यवस्था गरी पीडित व्यवसायीहरूलाई राहत दिन परिषद्ले सरकारको ध्यानाकर्षण गराएको छ । यदि समयमै यी मागहरू सम्बोधन नभए देशभरका निर्माण कार्यहरू ठप्प हुन सक्ने चेतावनी समेत दिइएको छ ।




