काठमाडौँ । स्वास्थ्य सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सरकारले देशभरका अस्पतालमा रहेका महँगा मेडिकल उपकरणहरूको अवस्थाबारे सुक्ष्म अध्ययन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको प्रयोग, गुणस्तर र सुरक्षा मापदण्डबारे छानबिन गर्न दुई सदस्यीय विज्ञ टोली गठन गरेको हो ।
वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिस्ट डा. हरिओम जोशी सम्मिलित यस टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । टोलीले उपकरणहरूको प्राविधिक अवस्था मात्र नभई तिनको प्रयोगबाट निस्कने विकिरणको व्यवस्थापन र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सतर्कताको समेत स्थलगत अनुगमन गर्नेछ ।
विशेषगरी विकिरण उत्सर्जन गर्ने मेसिनहरू राखिएका कोठाको बनावट मापदण्डअनुसार भए-नभएको र प्राविधिकहरूले व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरे-नगरेको विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।
बिरामी र स्वास्थ्यकर्मी दुवैलाई विकिरणको जोखिमबाट जोगाउन तथा संवेदनशील मेसिनहरूको उचित उपयोग सुनिश्चित गर्न यो कदम चालिएको मन्त्रालयको भनाइ छ ।



