काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल मौरिससमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सोमबार काठमाडौँ आइपुग्नुभएको छ ।
इण्डियन फाउन्डेसनको आयोजनामा भएको नवौँ पश्चिमी हिन्द महासागर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँ स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका विषयमा समेत स्पष्ट पार्नुभयो । उहाँका अनुसार सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेपछि मात्र प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ ।
गत बिहीबार मौरिसस प्रस्थान गर्नुभएका मन्त्री खनालले शनिबार सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले भारत, बंगलादेश, भुटान, सिङ्गापुर र मौरिससका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको थियो । ती भेटहरूमा आपसी हित र क्षेत्रीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।



