काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले इरानी बन्दरगाहहरू लक्षित गरी नाकाबन्दीको घोषणा गरेपछि इरानले यस कदमलाई अन्तर्राष्ट्रिय कानुन विपरित भन्दै कडा आपत्ति जनाएको छ ।
अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग प्रयोग गरेर इरानी बन्दरगाह आउजाउ गर्ने जहाजहरूमा रोक लगाउने निर्णय गरेसँगै इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कडा चेतावनी दिएको छ । आईआरजीसीका अनुसार यदि हर्मुज क्षेत्रमा नाकाबन्दी कार्यान्वयन गरिएमा खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित रहने छैनन् ।
यो नाकाबन्दी नेपाली समय अनुसार आज राति पौने ८ बजेदेखि कार्यान्वयनमा आउने बताइएको छ । यद्यपि, अन्य मुलुकका जहाजहरूलाई भने यो जलमार्ग प्रयोग गर्न कुनै अवरोध नहुने स्पष्ट पारिएको छ ।
पाकिस्तानमा अमेरिका र इरानबीच भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यो कडा कदम चाल्ने निर्णय गर्नुभएको हो । पछिल्लो समय अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि इरानले हर्मुज जलमार्गमा निगरानी बढाउँदै अनुमति प्राप्त जहाजलाई मात्र प्रवेश दिँदै आएको थियो ।
यो नयाँ नाकाबन्दीले क्षेत्रीय द्वन्द्व थप चर्कने र विश्वव्यापी ऊर्जा आपूर्ति तथा अर्थतन्त्रमा गम्भीर संकट निम्त्याउने जोखिम बढाएको छ ।


