धनगढी । इन्धनको लगातारको मूल्यवृद्धि र बजारमा देखिएको अभावले सुदूरपश्चिमका ठूला विकास आयोजनाहरूको गति सुस्त बनाएको छ ।
निर्माण व्यवसायीहरूले आफूसँग भएको मौज्दात इन्धन सकिँदै गएको र नयाँ सामग्री खरिद गर्न महँगीले नसकिएको बताएपछि राष्ट्रिय गौरवका सडक र सिँचाइ आयोजनाहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।
सेती राजमार्ग दक्षिण खण्ड अन्तर्गतको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजनाको काम इन्धनकै कारण रोकिने स्थितिमा पुगेको छ । आयोजना प्रमुख रामकुमार देवका अनुसार निर्माण कम्पनीसँग भएको पेट्रोलियम पदार्थ सकिएपछि भारी उपकरणहरू चल्न छाडेका छन् । २०७४ सालदेखि सुरु भएको यो २०२ किलोमिटर लामो सडकको अझै ३५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ भने बिटुमिनको अभावले कालोपत्रे गर्ने कार्य समेत प्रभावित भएको छ ।
यस्तै प्रभाव महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणमा पनि देखिएको छ । सातवटा प्याकेजमा निर्माण भइरहेको मूल नहरको काममा संलग्न व्यवसायीहरूले लागत अत्यधिक बढेको भन्दै हात झिक्न थालेका छन् । नदी नियन्त्रणका लागि आवश्यक पर्ने तारजालीको मूल्य आकाशिएपछि ती ठेक्काहरू पनि अलपत्र पर्ने जोखिम बढेको छ ।
कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोरको अवस्था पनि उस्तै छ । ४२५ किलोमिटर लामो यस सडकखण्डका निर्माण व्यवसायीहरूले सरकारले मूल्य समायोजन नगरेसम्म काम अघि नबढाउने अडान लिएका छन् ।
कञ्चनपुर निर्माण व्यवसायी महासङ्घका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण क्षेत्रमा गम्भीर सङ्कट आएको बताउँदै व्यवसायीहरू ‘निर्माण होलिडे’ को तयारीमा रहेको जानकारी दिए । सामग्रीको अभाव र महँगीका कारण व्यक्तिगत सम्पत्ति बेचेर काम गर्नुपर्ने अवस्था आएको भन्दै उनले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्नुपर्ने माग समेत गरेका छन् ।



