काठमाडौँ । संघीय संसद्मा विभिन्न राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग प्रधानमन्त्री बालेन शाहले आज विशेष छलफल गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । यस संवादमा सांसदहरूले आ-आफ्नो समुदाय र क्षेत्रका विद्यमान समस्या, आगामी चुनौती तथा त्यसका सम्भावित समाधानका विषयमा प्रधानमन्त्रीलाई प्रत्यक्ष सुझाव दिनेछन् ।
कार्यपालिका र जनप्रतिनिधिहरूबीच सिधा सम्पर्क स्थापना गरी नीति निर्माण र त्यसको कार्यान्वयन प्रक्रियालाई थप चुस्त बनाउन यो भेटघाट फलदायी हुने विश्वास सचिवालयको छ ।
यसअघि प्रधानमन्त्री बालेनले सातै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छुट्टाछुट्टै चरणमा छलफल सम्पन्न गरिसकेका छन् । सोही क्रमको निरन्तरता स्वरूप आज समानुपातिक सांसदहरूसँग अन्तर्क्रिया हुन लागेको हो ।



