काठमाडौँ । बागमती नदी किनारलाई अतिक्रमणमुक्त बनाउने अभियान अन्तर्गत थापाथलीपछि अब महानगरले गैरीगाउँ क्षेत्रमा रहेका अवैध संरचना हटाउन थालेको छ ।
नदीको बहाव क्षेत्र मिचेर बनाइएका घर टहरा खाली गराउन यसअघि नै सूचित गरिएकाले अहिले उक्त स्थानमा डोजर चलाउन सुरु गरिएको हो । महानगरको सूचनालाई पछ्याउँदै अधिकांश स्थानीयले आफ्ना सरसामान र टहरा आफैँ व्यवस्थापन गरिरहेका छन् । यस कार्यलाई व्यवस्थित बनाउन र सम्भावित अवरोध रोक्न महानगर प्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएका छन् ।
बागमती कोरिडोरलाई सफा र सुन्दर बनाउने योजना अनुसार यो क्षेत्रका अनधिकृत संरचना भत्काउने कामलाई तीव्रता दिइएको छ ।



