काठमाडौँ । नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै न्याय र कानुनी क्षेत्रमा प्रविधिमैत्री सहकार्य गर्ने सहमति भएको छ ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भएको भेटवार्तामा यस्तो समझदारी बनेको हो । मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा राजदूत माओमिङले मन्त्री गौतमलाई नयाँ जिम्मेवारीका लागि शुभकामना दिएका थिए ।
सो अवसरमा मन्त्री गौतमले वर्तमान सरकारले सुशासन र डिजिटल रूपान्तरणलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै न्याय प्रणालीलाई थप आधुनिक र पहुँचयोग्य बनाउन चीनको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
छलफलमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई लगानी र पर्यटनका साथै विधिको शासन सुदृढ गर्ने दिशामा अगाडि बढाउने विषयमा सकारात्मक कुराकानी भएको छ ।
विशेषगरी न्यायमा नागरिकको सहज पहुँचका लागि डिजिटल प्रणालीको विकास र ज्ञान आदानप्रदानमा दुवै पक्षले जोड दिएका छन् ।



