काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ ।
काउन्सिलले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै नेपाली नागरिकता त्यागेर अन्य देशको नागरिकता र राहदानी लिएको पुष्टि भएका चिकित्सकहरूलाई आफ्नो दर्ता सूचीबाट हटाएको जानकारी दिएको हो । यो निर्णय नेपाल मेडिकल काउन्सिल ऐन २०२० र नेपाल नागरिकता ऐन २०६३ को प्रावधान बमोजिम गरिएको हो ।
विदेशी नागरिकता लिएका चिकित्सकहरूले नेपाली नागरिककै हैसियतमा काउन्सिलमा नाम दर्ता गराएको भए तापनि विदेशी नागरिक बन्ने बित्तिकै पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था रहेको छ । दर्ता खारेजीमा पर्ने चिकित्सकहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ ।
काउन्सिलले नाम हटाएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारू रहेका छन् ।
त्यस्तै डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको छ । यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै कार्यान्वयनमा आएको काउन्सिलले स्पष्ट पारेको छ ।




